असोज १२, काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया उडेका छन्। पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्।
हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए। राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन्।
एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्। एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।
उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो। भारतलाई हराउँदै नेपाली उपाधि जितेको थियो।
पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ।



