२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महसुल नबुझाउने सात कार्यालयको विद्युत् लाइन काटियो

images

  • २०८० माघ १७, बुधबार
  • 1.2K
    SHARES
  • महसुल नबुझाउने सात कार्यालयको विद्युत् लाइन काटियो

    कैलाली : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ। 

    विद्युत् प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रहेको जनाइएको छ। वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेश कुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १ सय ८० ग्राहकले महसुल बुझाएका छन्। 

    एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार ४ सय ९१ विद्युत् महसुलबापतको रकम असुली भएको उहाँले जानकारी दिनुभयो। धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सात वटा सरकारी कार्यालयको लाइन काटेको छ। ती ७ कार्यालयले रु ६ लाख २ हजार ६ सय ७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ 

    लाइन काटिएका सरकारी कार्यालयबाट रु १ लाख ४८ हजार ६ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिनुभयो। धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन्। 

    वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ। विद्युत् विनियम वलीमा मिटर रिडिङ भएको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ