काठमाडौँ : रसुवामा निर्माणाधीन लाङटाङ-भोटेकोसी जलविद्युत् आयोजनाले २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको छ। कूल १२० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ। आयोजनाका प्रवर्द्धक रहेका नेपाली काँग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैङ्क अफ चाइनाबाट झन्डै १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ।
आयोजनामा संस्थापक लगानीकर्ताहरूले ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर लगानी गरेका छन्। नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा स्वपुँजीका रूपमा ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर भित्री सकेको छ। १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको रकम भने ऋणमा ल्याइएको हो। सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ। सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समय सीमा प्रदान गरेको थियो।
आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको १० प्रतिशत लगानी रहेको छ। आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवर्द्धक कम्पनी लाङटाङ–भोटेकोसी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैङ्क सिचुआन शाखाबिच गत पुस २३ गते सम्झौता भएको थियो।
काँग्रेस सांसद खड्काको पहलमा अगाडि बढाइएको उक्त आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ। विसं २०७६ पुसमा शिलान्यास भएको उक्त आयोजना निर्माणको काम अहिले धमाधम भइरहेको छ। सांसद खड्काले देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने लक्ष्यका साथ आफूले ऊर्जा क्षेत्रमा लगानी भित्र्याएको जानकारी दिए।
सरकारले राखेको विद्युत् विकासको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ आफूले पनि जलविद्युत् आयोजना निर्माण गरिरहेको जानकारी दिँदै उनले भने, ‘सरकारले गर्नुपर्ने काममा मेरोतर्फबाट पनि सानो सहयोग होओस् भन्ने ध्येयका साथ वैदेशिक लगानी भित्र्याइएको हो।’ रसुवाको फङ्लुङखोला र भोटेकोसीको दोभानदेखि करिब १५० मिटरमाथि भोटेकोसी नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ।
उक्त आयोजनामा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिने छ। स्थानीय चिलिमे खोला र भोटेकोसीको सङ्गम स्थलमा विद्युत् गृह निर्माण गरिने आयोजनाले जनाएको छ। परियोजनाको निर्माण कार्य कोरोनालगायत काबु बाहिरको परिस्थितिका कारणले असर परे पनि हाल २० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ। विद्युत् विकास विभागले आवश्यक प्रक्रिया पूरा भएको जनाएको छ । आयोजना शीघ्र निर्माण गर्ने गरी प्रवर्द्धक कम्पनीले गति दिएको छ।
आयोजनाबाट उत्पादित बिजुली सुक्खा याममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षा याममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता २०७४ पुस ७ गते भएको थियो। रसुवाको स्याफ्रबैँसी नजिकै आयोजनास्थल भएकाले पनि उपकरण ढुवानी, निर्माण सामग्रीको जोहो गर्न सहज भएको छ। आयोजनाबाट उत्पादित बिजुली करिब ५ किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सवस्टेशनमा जोडिनेछ।
नदी प्रवाहमा आधारित सो आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको हो। सरकारले स्वपुँजी २० प्रतिशत भन्दा घटी र विदेशी पुँजी ८० प्रतिशत भन्दा बढी नहुने गरी १०० मेगावाट भन्दा ठुला आयोजनामा अमेरिकी डलरमै विद्युत् खरिदबिक्री सम्झौता गर्ने निर्देशिका ल्याएको थियो।
सो अनुसार नै लाङटाङ भोटेकोसी आयोजनाका हकमा अधिकतम दस वर्षसम्म अमेरिकी डलरमा भुक्तानी गर्ने र त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी गर्ने गरी सम्झौता भएको छ। यसै गरी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा रहेको रसुवागढी र साञ्जेनले निर्माण गरेका ३ आयोजना अन्तिम चरणमा पुगेका छन्। कूल १११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिक रुपमा ६१३ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ।
साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण भएको छ। यसै गरी रसुवाका आमाछोदिङ्गो गाउँपालिका–५ मा निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमा गत पुस ११ गते बुधवार देखी पानी भर्ने काम सुरु भएको छ। सो आयोजनाको परीक्षणको काम हाल भइरहेको छ।
यस्तै, लाङटाङ खोलामा २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ। रसुवामा मात्रै कूल ५८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन्। त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ सालदेखि सञ्चालनमा छ। जलविद्युत् आयोजनाका लागि केन्द्रका रूपमा स्थापित सो जिल्लामा पहिचान भएका अन्य आयोजनालाई पनि शीघ्र निर्माणको प्रक्रियामा अगाडि बढाउने सरकारको लक्ष्ये छ।



