२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीन हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइयो

images

सत्कार खबर
  • २०८० जेठ ३२, बिहीबार
  • 601
    SHARES
  • तीन हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइयो

    काठमाडौं : चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ। पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाइएको हो।

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०,  रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ। खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उहाँले जानकारी दिनु भयो। 


    प्रदेश सरकार र संघीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो। आचार्यले भन्नु भयो, सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन। अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ।

    कार्यालयमा बजेट नहुँदा कृषक आफैँले खोप खरिद गरेका हुन्। अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन्। कार्यालयले अहिलेसम्म पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरेको उहाँले जानकारी दिनुभयो। रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ।

    कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उहाँले जानकारी दिनुभयो। रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने ? र यसका औषधिका बारेमा जानकारी दिइएको आचार्यले बताउनु भयो।

    लम्पीस्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ। जिल्लामा हालसम्म चार हजार एक सय गाईभैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ। यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन्। जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ।

    गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।

    यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। 

    यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनु भयो। रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ