काठमाडौं:महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन,इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।
महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ।
तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताउनु भयो ।
बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट शुरू भएको हो ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिनु भयो ।



