काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट पुनः २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आज बुधवार (११ पुस) ३५ अर्ब निक्षेप सङ्कलन गरेको थियो।
नेपाल राष्ट्र बैङ्कले भोलि बिहीबार बैङ्किङ प्रणालीबाट पुन निक्षेप सङ्कलन गर्न भएको छ। आज बुधवार बोलकबोलमा बैङ्कहरूले ३५ अर्ब तरलता राष्ट्र बैङ्कमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको बोलकबोल पेस भएको थियो।
आज बैङ्कहरूले न्यूनतम २.४९ देखि अधिकतम ३.१२ प्रतिशत ब्याजदरमा निक्षेप राख्नु बोलकबोल प्रस्ताव गरेका थिए। नेपाल राष्ट्र बैङ्कले औसत २.८५९४ प्रतिशत ब्याजदरमा ३५ अर्ब निक्षेप लिएको छ।
यस अघि राष्ट्र बैङ्कले पुस १ र ३ गते १०/१० अर्ब तथा पुस ४ र ६ गते २५/२५ अर्ब र आज ३५ अर्ब निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै बैङ्किङ प्रणालीबाट तानेको थियो। गत मङ्सिर महिनामा भने राष्ट्र बैङ्कले ८ पटक गरी बैङ्किङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।



