काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने दाबी गर्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र भएको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् ।’
प्रधानमन्त्री प्रचण्डले गणतन्त्रलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिदै भन्नु भयो, ‘हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट आज देशको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनु गौरवको विषय हो ।
गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयौं चुनौती देखिएपनि हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौ । उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अंगिकार गरिएको बताउनु भयो । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उहाँको भनाई छ ।
लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भए तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नु भयो ।



