२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

३ हप्ताका लागि आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

images

  • २०८० पुस ७, शनिबार
  • 671
    SHARES
  • ३ हप्ताका लागि आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

    चितवन : नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक ४ घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्।

     नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ। 

    काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो। यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ। पहिलो चरणमा ३ हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ।

    गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो। साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो। बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ४ घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ