काठमाडौँ : नेपाल वायुसेवा निगमले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ। मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ।
कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन्। आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन्। यसबाहेक तीन वटै अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो।



