काठमाडौँ : सरकारले घोषणा गरे अनुसारको छुट तथा व्याज मिनाहा पाउने गरी बैंक वित्तीय संस्थाबाट कर बुझ्नका लागि शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ। “सामान्यतया महिनाको अन्तिम दिन सार्वजनिक विदा परे पनि विभागले सेवा प्रवाह गर्दै आएको छ।
आज सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसलासँगै विगतको अभ्यासलाई निरन्तरता दिने सम्बन्धमा शुक्रबार बिहान विभागले थप निर्णय गर्छ” विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो। बैंक तथा बीमा कम्पनीहरुले सरकारले यस अघि आर्थिक विधेयकमा गरेको व्यवस्था अनुसार मङ्सिर मसान्तसम्म कर बुझाएमा शुल्क र ब्याज मिनाहा हुने मैनालीले बताउनु भयो।
यसका लागि विभागले मंसिर ३० गते शनिबार पनि सेवा दिने तथा मङ्सिर मसान्तसम्म कर नबुझाइ पुस लागेपछि शुल्क तथा ब्याज सहित कर तिर्नु पर्ने पनि उहाँले बताउनुभयो। ऐनमा भएको व्यवस्थालाई इजलाशले निरन्तरता मात्र दिएको उहाँले बताउनुभयो र आगामी दिन करका सम्बन्धमा उत्पन्न हुन सक्ने अन्यौलताको अन्त्य भएको पनि उहाँले बताउनुभयो।



