काठमाडौं :नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौं लगिएको छ । उनीहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौं लगेको हो त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ ।
पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिनु भयो ।
सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घन्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोली गठन गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् । सोही प्रकरणमा मुछिएका निरज राई र प्रतीक थापा हालसम्म फरार छन् ।



