काठमाडौं : आइतबार नियमित कारोबार सुरु भएपछि शेयर बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको छ। ११ बजेर २७ मिनेट नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ।
आज पहिलो सर्किट ब्रेक ११ बजेर ५ मिनेट लागेको थियो। पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट मै दोस्रो सर्किट ब्रेक लागेको हो। नेप्से सूचक ५ प्रतिशत अर्थात ९२.७३ अंकले बढेर १९४५.५१ को बिन्दुमा पुगेको छ। अहिलेसम्म २९ करोड ६० लाखको कारोबार भएको छ
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट घटाएर १सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ।



