मङ्सिर ११, चितवन : जिल्लामा पछिल्लो ४ महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ। चालु आर्थिक वर्षको ४ महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमा २१ जना पुरुष, २ जना महिला छन्।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार दुर्घटनामा परी २२९ जना घाइते भएका छन्। जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने १८२ जना सामान्य घाइते भएका छन्।
जिल्लामा भएका सवारी दुर्घटनामा १३७ वटा सवारीसाधन परेका छन्। सुवेदीका अनुसार जिल्लामा भएका पूर्व–पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । यस्तै, नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा ३ वटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताउनुभयो। उहाँका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ। उहाँले भन्नुभयो, “मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ् बोर्ड राख्ने काम सुरु गरिएको छ।” दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको उहाँले बताउनुभयो।



