मङ्सिर ७, काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको समूहले आज गर्ने कार्यक्रमलाई लक्षित गरी सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र २ समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको जनाएको छ।
युवा संघका लागि तीनकुने मैदान र प्रसाईं समूहका लागि बल्खुमा कार्यक्रम गर्ने स्थान तोकिएको छ। प्रशासनले तोकेको स्थान बाहिर गएर कुनै कार्यक्रम गरेर अप्रिय घटना भए सुरक्षा निकायले बल प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चेतावनी दिनुभयो। २ समूहको कार्यक्रमलाई लक्षित गरेर सुरक्षा निकायले सादा पोसाकमा सुरक्षाकर्मी मार्फत निगरानी बढाएको छ।
२ समूहबीच झडप हुन नदिन फरक-फरक रुट तोकिएको छ। नागरिकको दैनिक काममा अवरोध नहोस् भन्नका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। दुवै समूहले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने जनाएका छन्।
अत्यावश्यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज काठमाडौं उपत्यकामा अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै उपत्यकाका विभिन्न स्थानमा विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा अहसजता श्रृजना हुन सक्ने जनाएको छ। सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न वा ट्राफिक एफएम सुनी सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सूचनामा अनुरोध गरिएको छ।
ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ। भोलि युवा संघले तीनकुने र दुर्गा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्दैछन्।




