ललितपुर : लगातारको वर्षाका कारण जमिन कमजोर भई भिरालो जमिनमा बनेको एक घर ढलेको छ। ललितपुर महानगरपालिका वडा नम्बर २४, धापाखेलस्थित सोवितकुमार थापाको साढे २ तले घर सोमबार बिहान भत्किएको हो।
जमिन भासिएर घर जोखिममा परेको पूर्वजानकारी पाएपछि प्रहरी र स्थानीय प्रशासनले आइतबार नै सो घर खाली गराएका थिए। समयमै घर खाली गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।
अविरल वर्षाले भिरालो क्षेत्रको माटो खुकुलो र गिलो बनाएकाले घर ढल्न पुगेको प्रहरीको भनाइ छ। क्षतिबारे थप विवरण संकलन गर्ने र आसपासका जोखिमयुक्त घरहरूको अनुगमन गर्ने काम भइरहेको छ।