म्याग्दी : केही दिनदेखिको अविरल वर्षाका कारण आएको भीषण बाढी र पहिरोमा परी म्याग्दी जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार साँझ जारी गरेको अध्यावधिक विवरण अनुसार पहिरोमा पुरिएर ६ जनाले ज्यान गुमाएका छन् भने ३ जना अझै बेपत्ता छन्।
मृतक र बेपत्ताको अवस्था पहिरोमा परी अन्नपूर्ण गाउँपालिका–३ का ७५ वर्षीया शिलकुमारी पाइजा र ५४ वर्षीया योगमाया पाइजा, अन्नपूर्ण–६ की ५ वर्षीया बालिका जेनी पुर्जा तथा अन्नपूर्ण–८ का १९ वर्षीय सबिन गुरुङको ज्यान गएको छ। त्यस्तै, मालिका गाउँपालिका–३ का ३१ वर्षीय नीरन पुन र २८ वर्षीय देवबहादुर पुनको पनि पहिरोमै पुरिएर मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ।
बाढी-पहिरोमा परी अन्नपूर्ण गाउँपालिका–८ का २१ वर्षीय मनोज गुरुङ, बेनी नगरपालिका–३ की कुमारी विक र अन्नपूर्ण–६ का ७५ वर्षीय ओमबहादुर तिलिजा बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी छ। सेनाको हेलिकप्टरद्वारा ७८ जनाको उद्धार पहिरोले सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएपछि पैदल यात्रा र सवारी साधनबाट उद्धार गर्न सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख र पाउद्वार क्षेत्रमा फसेका ७८ जना स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यातातयात र बिजुली ठप्प, राहत वितरण सुरु पहिरोका कारण बेनी–बागलुङ सडकखण्ड बाहेक म्याग्दीका अन्य सबै आन्तरिक तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। बाटो पन्छाएर यातायात सुचारु गराउने प्रयास भइरहे पनि लगातारको वर्षाले समस्या थपेको छ। जिल्लाभर विद्युत् सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैबीच, प्रभावित क्षेत्रका बासिन्दाका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त राहत सामग्री अन्नपूर्ण गाउँपालिका–६ धारापानीमा पुर्याएर वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।