२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कालीगण्डकीको बाढीले बगायो नौलीबगरको पुल, दुई घर पुरिएर दुई जना बेपत्ता

images

  • २०८३ असोज ११, आइतबार
  • 126
    SHARES
  • कालीगण्डकीको बाढीले बगायो नौलीबगरको पुल, दुई घर पुरिएर दुई जना बेपत्ता

    म्याग्दी : लगातारको वर्षासँगै आएको बाढी र पहिरोले बेनी–जोमसोम–कोरला सडक खण्डमा गम्भीर क्षति पुर्‍याएको छ। कालीगण्डकी नदीमा आएको भीषण बाढीले अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पक्की पुल बगाएपछि यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रसुवाको भोटेकोशी क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दाले वैकल्पिक मार्गका रूपमा यस सडक खण्डको प्रयोग गर्दै आएका थिए। तर, पोखरेबगर–नौलीबगर जोड्ने पुल नै कालीगण्डकीले बगाएपछि र सडकका विभिन्न ठाउँमा पहिरो खसेपछि अहिले आवतजावत पूर्ण रूपमा थप्प भएको छ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार बाढी र पहिरोका कारण अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ लगायत सिङ्गो मुस्ताङ जिल्लासँगको सीधा यातायात सम्पर्क टुटेको छ।

    घर पुरिँदा दुई जना बेपत्ता, विद्यालयमा क्षति : 

    पहिरोले बस्ती क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। गाउँपालिकाको वडा नम्बर ५ गिवाङमा एउटा र वडा नम्बर ३ फगाममा अर्को गरी दुई वटा घर पहिरोमा पुरिएका छन्। पहिरोमा परेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको स्थानीय प्रशासन र उद्धार टोलीले जनाएका छन्।

    यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत पर्ने खामभित्ता क्षेत्रमा कालीगण्डकी नदीले तीव्रताका साथ सडक कटान गरिरहेको छ। बाढीका कारण अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयको भवनमा समेत भौतिक क्षति पुगेको छ।

    हाल प्रभावित क्षेत्रमा उद्धार र क्षति संकलनको काम भइरहेको छ भने सडक खुलाउने र वैकल्पिक व्यवस्था मिलाउने प्रयास जारी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ