काठमाडौँ : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले जितका लागि १ सय ३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन मात्र बनाएको छ।
यस्तै, अफगानिस्तानका लागि फैसल खान अहमदजाई र नजिबुल्लाह जद्रानले समान ३०-३० रन बनाएका थिए भने नाङ्गेयालिया खानले अविजित १७ रन जोडे र अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले कसिलोबलिङ गर्दै अफगानिस्तानलाई दबाबमा राखे। उनले आफ्नो ४ ओभरको स्पेलमा जम्मा २१ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लएका थिए। त्यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले पनि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन मात्र दिएर ३ विकेट हात पारेका थिए ।
प्रतियोगितामा नेपालको यस पहिलो खेल हो भने अफगानिस्तानले हिजो जापानलाई ४८ रनले पराजित गरेको थियो। यस समूहमा आयोजक जापान, अफगानिस्तान र नेपाल रहेका छन्। समूह चरणका खेलहरूपछि शीर्ष स्थानमा रहने टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल (भोलि) शनिबार घरेलु टोली जापानसँग खेल्ने तालिका रहेको छ।