२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौँमा २२ वर्षपछि 'सम्यक् महादान' आयोजना हुने, सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन

images

  • २०८३ असोज ८, बिहीबार
  • 296
    SHARES
  • काठमाडौँमा २२ वर्षपछि 'सम्यक् महादान' आयोजना हुने, सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आउँदो माघ १ गते स्वयम्भू भुइँखेलमा सम्यक् महादान आयोजना गर्ने भएको छ । हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २२ वर्षसम्म पनि हुन नसकेको महादानलाई समुदायसँग सहकार्य गरेर आयोजना गर्न लागिएको हो । प्राचीन संस्कारका रुपमा मनाइने यो उत्सव ऎच्छिक गुठी मार्फत मनाइन्थ्यो । मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । महादान २०६१ पछि काठमाडौँमा मनाउन सकिएको छैन ।

    परम्परागत रुपमा सञ्चालन गर्नु पर्ने महादान आयोजना हुन नसकेपछि मुर्छित अवस्थामा पुगेको छ । अमूर्त सांस्कृतिक सम्पदाको यो जीवन्त संस्कारलाई पूनर्जीवित गर्ने लक्ष्यसहित महान बौद्ध दान ‘सम्यक् महादान’ तयारीका लागि ‘सम्यक महादान मूल समारोह समिति ने. सं. ११४६–४७ (वि.सं. २०८३)’ घोषणा भएको छ । काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्व र प्रा. डा. नरेशमान बज्राचार्यको संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ । समितिमा प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महादान आयोजना हुने वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलसहित ५ जना सहसंयोजक र ३७ जना पदाधिकारी हुनुहुन्छ ।

    मूल समारोह समितिका निर्णय कार्यान्वयन गर्न कार्यान्वयन समिति गठन गरिएका छन् । १३ वटा उपसमिति गठन भएका छन् । बुद्धद्वारा मानव कल्याणका निमित्त उपदेशित शिक्षाको पहिलो शिक्षा तथा अभ्यास ‘दान’ हो । बौद्ध साहित्यमा दानको महत्व वर्णन हुने अनेक सूत्र, जातक तथा अवदान कथाहरु र ती प्रसङ्गसंग जोडिएर आउने नमोबुद्ध, मणिचूड पर्वत जस्ता नेपालका चर्चित स्थानहरुमा बुद्धले सरीर अर्पण गरेर परमार्थ दान अभ्यास गरेको उदाहरणहरु उल्लेख्य उदाहरण छन् ।

    बौद्धहरुले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रुपमा समावेश हुन्छ । नेपालमा दान अभ्यासका लागि नियमित बार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरा दान, निश्चित अन्तराल पछि गरिने महा सम्यक् दानहरु पर्व कै रुपमा मनाइँदै आएका छन् । साथै यी दानहरु नीजि तजविजमा ऐच्छिक रुपमा समर्थवान् श्रद्धालु व्यक्तिहरुले आयोजना गर्दै आएको पाइन्छ ।

    यी विभिन्न प्रकारका दान चर्याहरु मध्ये ‘सम्यक् महादान’ सबभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध (देवमूर्तिहरु) लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरहरुका देव, देवीहरुलाई निमन्त्रणा गरी विराजमान गराउनु पर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दान दक्षिणा चढाउनु पर्ने, राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नु पर्ने, साथै आएजति संघ अर्थात् नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बद्धाचार्य, शाक्यभिक्षु, चैलक भिक्षुहरु सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी बस्तुहरु पूर्ण तयारीका साथ दान अर्पण गर्नु पर्छ ।

    यी सबै क्रियाकलापको तयारीका लागि निकै खर्च, श्रम, स्रोत साधन आवश्यक हुन्छ । त्यसैले यसको आयोजना कठिन हुन्छ । यति कठिन हुँदाहुँदै पनि विगतमा धर्मचित्त भएका श्रद्धालुहरुले यस्तो पर्व ऐच्छिक रुपमा आयोजना गरेर नेपाली सामथ्र्य सावित गरेका थिए । अहिले आएर सम्यक् महादानको आयोजना सर्वसाधारणको क्षमता र पहुँचभन्दा बाहिर पुगिसकेको छ ।

    सम्यक् महादानका मुख्य आकर्षण बुद्धवंश साहित्यमा उल्लेख भएका २८ मानुषी बुद्धहरु मध्ये चौथो बुद्ध दीपङ्कर हुन् । यिनै बुद्धका समयदेखि नेपालमा दान पर्व चलिआएको जनविश्वास छ । यससँग सम्बन्धित कथालाई दान चर्या गर्दा स्मरण गरिन्छ । सम्यक् दानको वेला ठुलो संख्यामा लस्करी प्रदर्शनमा राखिने बडेमानका दीपङ्गर बुद्धका धातुमूर्तिहरु विशेष रुपले शोभायमान गरिन्छ । यो शोभा उत्सव स्वदेश तथा विदेशमा निकै चर्चित छ । साथै, राष्ट्र प्रमुखको उपस्थिति हुनु, अनेकौं बौद्ध देवदेवीहरुको एकै स्थानमा एकत्रित गरिनु, बौद्ध संघ सदस्यहरु भेला हुनु, ती आराध्य वस्तु र अर्पण गरिने विभिन्न तरहका अमूर्त श्रद्धा भाव, दान कार्य प्रस्तुतीकरण आदि सम्यक् महादानका थप आकर्षण हुन् ।

    महान बौद्ध दान ‘सम्यक महादान’ नेपालको प्राचीन मौलिक परम्परा हुँदाहुँदै काठमाडौँको सांस्कृतिक पहिचान पनि हो । यो तत्कालीन उपत्यकाबासीहरुका सामूहिक सहकार्यको अनुपम नमूना पनि हो । यो पर्व कुनै बेला काठमाडौँ नगरको वैभवताको प्रतीक थियो ।

    आजको यो घोषणा काठमाडौँबासीहरुका लागि अत्यन्तै हर्षको विषय हो । सम्यक् महादानमा निहित मुलुकमा दुख, दुर्भिक्ष निवारणको कामनाले आसन्न सम्यक् महादानको आयोजनाद्वारा अहिले रसुवा क्षेत्रको बाढीबाट आएको जलप्रलयको आकान्तबाट प्रवाभित जनतालाई र्धर्यधारण गरी दुखः सामना गर्ने क्षान्ति प्राप्ति होउन् र दिवंगत भएकाहरुले सुगति प्राप्ति गरुन् भनी प्रार्थना गर्दछौँ ।

    उत्सवको आयोजनामा महानगरबासी एवं श्रद्धालुहरुको सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ