काठमाडौँ : बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिने क्रम जारी रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट लगातार पैसा प्रशोचन (खिच्ने) गरिरहेको छ। यसै क्रममा केन्द्रीय बैंकले आज (असोज ८ गते) निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको हो।
वित्तीय बजारमा रहेको बहुल तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल प्रक्रिया अघि बढाएको छ।
यस्ता छन् बोलकबोलका मुख्य सर्त तथा व्यवस्था:
-
सहभागी हुन पाउने संस्था : बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
-
समय: इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
-
ब्याजदर निर्धारण : निक्षेप संकलनको सावाँ तथा ब्याजदर बोलकबोलको आधारमा तय हुनेछ।
-
रकमको सीमा : सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोडले भाग जाँदा निःशेष बाँकी रहने गरी कुल आह्वान रकम (२० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन्।
-
भुक्तानी अवधि : ३२ दिन अवधिको यो निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आउँदो कात्तिक ९ गते गरिने राष्ट्र बैंकले जनाएको छ।



