२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वैदेशिक व्यापारमा सुधार : दुई महिनामै पौने ५ खर्बको कारोबार, निर्यात ६१ प्रतिशतले बढ्यो

images

  • २०८३ असोज ७, बुधबार
  • 191
    SHARES
  • वैदेशिक व्यापारमा सुधार : दुई महिनामै पौने ५ खर्बको कारोबार, निर्यात ६१ प्रतिशतले बढ्यो

    काठमाडौँ :रसुवा–भोटेकोशी बाढीका कारण उत्तरी नाकातर्फको आवतजावत र सडक यातायात प्रभावित भए पनि देशको समग्र वैदेशिक व्यापारमा भने उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिना (साउन–भदौ) को तथ्यांक अनुसार उत्तरी नाकातर्फ केही अवरोध भए तापनि समग्र व्यापारको आकार फराकिलो बनेको छ।

    चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापारको यो आकार निकै सानो रहेकोमा यसपटक आयात र निर्यात दुवैमा आएको उछालले व्यापारको कुल आकार बढाएको हो।

    विभागका अनुसार भदौ मसान्तसम्म कुल वस्तु आयात ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ५ अर्बको वस्तु आयात भएकोमा यसपालि सुधार देखिएको हो। महिनागत रूपमा हेर्दा साउनमा १ खर्ब ८७ अर्ब ४४ करोडको आयात भएकोमा भदौमा बढेर २ खर्ब १४ अर्ब पुगेको छ।

    आयातमा भएको यो वृद्धिमा बाढीपछिको राहत सामग्रीको पनि योगदान रहेको छ। अर्थ मन्त्रालयका अनुसार प्राकृतिक विपत्तिपछि बाह्य मुलुकबाट आएका राहत तथा उद्धारका सामानले आयातको तथ्यांक बढाउन सघाएका हुन्। यसै अवधिमा भन्सार छुट वा शून्य दर लाग्ने राहत लगायतका ४६ अर्ब ५९ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

    आयातसँगै यसपटक निर्याततर्फ पनि उत्साहजनक प्रगति दर्ता भएको छ। भदौ मसान्तसम्म वस्तु निर्यात ६१.८६ प्रतिशतले बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा जम्मा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको थियो, जसको तुलनामा यस वर्षको वृद्धिदर निकै उच्च मानिएको छ।

    निर्यातमा आएको यो उल्लेख्य वृद्धिले मुलुकको बढ्दो व्यापार घाटाको गतिलाई केही हदसम्म धीमा बनाउन मद्दत पुर्‍याएको छ। समीक्षा अवधिमा कुल व्यापार घाटा ३ खर्ब २४ अर्ब रुपैयाँ छ। आयात र निर्यातको अनुपात ५.२४ कायम भएको छ भने कुल व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशतबाट घटेर ८३.९८ प्रतिशतमा झरेको छ।

    वस्तुगत आयातको विश्लेषण गर्दा डिजेल र पेट्रोलभन्दा पनि बढी कच्चा सोयाबिन तेल भित्रिएको देखिएको छ। दुई महिनामा ३८ अर्ब ५ करोडको सोयाबिन तेल आयात हुँदा डिजेल २८ अर्ब ३ करोड, पेट्रोल १६ अर्ब १३ करोड र एलपी ग्यास १६ अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको छ। प्रविधितर्फ स्मार्टफोन ९ अर्ब ७४ करोड र ल्यापटप २ अर्ब ७८ करोडको भित्रिएको छ।

    नेपालबाट बाहिरिने वस्तुमा पनि प्रशोधित सोयाबिन तेलकै वर्चस्व देखिएको छ। दुई महिनाको अवधिमा ३६ अर्ब ४ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। यसका साथै जुटबाट बनेका कपडा तथा धागो २ अर्ब २३ करोड, सूर्यमुखी तेल २ अर्ब ८ करोड, पाम तेल १ अर्ब ९३ करोड र अलैँची १ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

    व्यापारिक साझेदार देशहरूको हिसाबले नेपालको सबैभन्दा ठूलो व्यापार भारत र चीनसँग नै सीमित छ। दुई महिनामा भारतबाट २ खर्ब २१ अर्बको आयात हुँदा ६५ अर्ब ४४ करोडको निर्यात भएको छ। चीनबाट ७६ अर्ब ४० करोडको सामान भित्रिँदा निर्यात भने जम्मा २९ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ। तेस्रो स्थानमा रहेको अर्जेन्टिनाबाट २८ अर्ब २० करोडको आयात भएको छ।

    भदौ १० को बाढीले रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध गरेपछि चीनसँगको व्यापारिक चाप मुस्ताङको कोरला नाकातर्फ मोडिएको छ। साउनमा ५८ करोड मात्र आयात भएको कोरलाबाट दुई महिनामा ८ अर्ब ३३ करोडको सामान भित्रिसकेको छ। यद्यपि, मुलुकको कुल आयातको ४९.१५ प्रतिशत र निर्यातको ४४.०५ प्रतिशत व्यापार सम्हाल्दै वीरगञ्ज भन्सार नाका नै पहिलो स्थानमा कायम छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ