काठमाडौँ : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा गरेका थिए। गत वर्षको तुलनामा यो समीक्षा अवधिमा बैंकहरूको नाफा ४.२३ प्रतिशतले वृद्धि भएको हो। समीक्षा अवधिमा कुल १३ वटा बैंकको नाफामा सुधार आएको छ भने ७ वटा बैंकको नाफामा गिरावट दर्ता भएको छ।
नबिल नाफामा अगाडि, कृषि विकास बैंकको वृद्धिदर उच्च :
कमाईका हिसाबले नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिलले साउन महिनामा मात्रै ८८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ७१ करोड ६४ लाख रुपैयाँको तुलनामा २३.२८ प्रतिशतको वृद्धि हो।
प्रतिशतका आधारमा भने कृषि विकास बैंकले सबैभन्दा ठूलो छलांग मारेको छ। बैंकको नाफा १०,२५४.४० प्रतिशतले बढेर ३८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। दोस्रो धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा ८१ करोड ३६ लाख रुपैयाँ कमाएको छ, यद्यपि यो नाफा गत वर्षको तुलनामा ३.७० प्रतिशतले कम हो। तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १५.८० प्रतिशतको वृद्धिसहित ७३ करोड ४४ लाख रुपैयाँ नाफा जोडेको छ।
यस्तै, कुमारी बैंकले ५४ करोड ७० लाख रुपैयाँ कमाएर ११.१० प्रतिशतको वृद्धि दर्ता गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा भने ६.१५ प्रतिशतले घटेर ५२ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ, जसले १७ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कुन बैंकले कति कमाए नाफा ?




