काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश पारितसहितका महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गर्न वार्षिक साधारण सभा (AGM) आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा आगामी असोज २३ गते, शुक्रबार बिहान ९ बजे काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा आयोजना हुनेछ।
गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशतका दरले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ। हाल बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य वित्तीय अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ।
कम्पनी ऐन २०६३ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रावधान अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। वर्तमान लेखापरीक्षक 'BRS Neupane & Co., Chartered Accountants' ले लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गरिसकेकाले पुन: नियुक्तिको कानुनी आधारबारे पनि छलफल हुनेछ।
सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहका तर्फबाट निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले दिएको राजीनामा स्वीकृत गरी उनको बाँकी कार्यकालका लागि अनिता रायमाझीलाई (सञ्चालक समितिको १७८ औं बैठकद्वारा) नियुक्त गरिएको थियो। सभाले उक्त नियुक्तिको बाँकी अवधि पूरा गर्ने गरी औपचारिक अनुमोदन गर्नेछ।