काठमाडौँ : नेपाल र बंगलादेशबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को संयुक्त पहलमा आगामी सन् २०२७ को मार्च महिनामा यो सिरिज सञ्चालन हुन लागेको हो।
यस सिरिजलाई हालै नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने क्यानले जनाएको छ। यस शृंखला केवल खेल मैदानसम्म मात्र सीमित नभई नेपालको समग्र क्रिकेट विकासका लागि दीर्घकालीन सहकार्यको सुरुवात हुने बताइएको छ। सहकार्यअन्तर्गत बिसिबीले नेपालको महिला क्रिकेट, उमेर समूहका टोलीको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ।
यसैगरी, भविष्यमा नेपाल 'ए' टोलीको वैदेशिक भ्रमण र दुवै देशका 'ए' टोलीबीच द्विपक्षीय शृंखला सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्न र दक्षता बढाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। सिरिजका सबै तीनै खेलहरू काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ।
खेल तालिकाहरु :
पहिलो टी-२० : मार्च २६, २०२७ ( चैत्र १२,२०८३ )
दोस्रो टी-२० : मार्च २८, २०२७ ( चैत्र १४,२०८३ )
तेस्रो टी-२० : मार्च ३०, २०२७ ( चैत्र १६ ,२०८३ )