काठमाडौँ : नबिल बैंकले आगामी असोज २२ गते आफ्नो ४२ औँ वार्षिक साधारणसभा (AGM) डाकेको छ। बैंकको हालै बसेको सञ्चालक समिति बैठकले काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९:३० बजेबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
उक्त साधारणसभामा पेस गरिने मुख्य प्रस्तावहरू र महत्त्वपूर्ण जानकारीहरू निम्नअनुसार छन्:
लाभांश तथा पुँजी वृद्धि प्रस्ताव
कुल लाभांश : गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १५.८० प्रतिशत लाभांश अनुमोदन गरिने (५ प्रतिशत बोनस सेयर र करसहित १०.८० प्रतिशत नगद लाभांश)।
अग्राधिकार सेयर लाभांश : ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ पनि करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव।
अधिकृत पुँजी वृद्धि : बैंकको व्यावसायिक क्षमता थप सुदृढ बनाउन हालको अधिकृत पुँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव।
अन्य मुख्य एजेन्डाहरू :
प्रबन्धपत्र संशोधन : पुँजी संरचना परिवर्तन भएसँगै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायको निर्देशनअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
मर्चर तथा प्राप्ति : उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने।
सञ्चालक निर्वाचन : संस्थापक सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने।
वित्तीय विवरण र लेखापरीक्षक : गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सहायक कम्पनीहरू (नबिल इन्भेस्टमेन्ट बैंकिङ तथा नबिल स्टक डिलर) को एकीकृत वित्तीय विवरण पारित गर्ने।
बुक क्लोज :
बुक क्लोज मिति : असोज १४ गते।
असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।