२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

images

  • २०८३ भदौ ३०, मंगलबार
  • 221
    SHARES
  • घरजग्गा कारोबारमा उल्लेख्य सुधार, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको 'घरजग्गा कारोबार प्रवृत्ति तथा वर्तमान स्थिति' सम्बन्धी प्रतिवेदनअनुसार देशको घरजग्गा क्षेत्र सुस्तताबाट बाहिरिँदै सुधारको बाटोमा फर्किएको छ। अघिल्ला वर्षहरूमा देखिएको मन्दी र शिथिलतालाई पछाडि छाड्दै गत आर्थिक वर्ष २०८२/८३ मा खरिदबिक्री, राजस्व सङ्कलन तथा बैंक कर्जा प्रवाहमा राम्रो सुधार देखिएको हो।

    चालू प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबार संख्यामा १.८४ प्रतिशतको गिरावट आएको थियो, जसले बजार पुनः चलायमान हुन थालेको सङ्केत गर्छ। रकमका आधारमा हेर्दा गत आर्थिक वर्षभरिमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको मात्र कारोबार भएको स्थितिमा यो वृद्धि साढे तीन खर्बभन्दा बढीले उच्च हो।

    गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ। सो अवधिमा कुल २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ, जबकी अघिल्लो वर्षको सोही चौथो त्रैमासमा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँबराबरको मात्रै कारोबार भएको थियो। कारोबारको किसिमअनुसार समीक्षा अवधिमा लिखत पारिततर्फको कारोबार १२.२८ प्रतिशतले बढेको छ। त्यसैगरी लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्यामा अझ उच्च वृद्धि भई २२.८८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१५ प्रतिशत मात्रै बढेको थियो।

    जग्गाको खरिदबिक्री क्षेत्रफलका हिसाबले पनि बजारमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ, जबकी अघिल्लो वर्षको सोही अवधिमा कुल कारोबार क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

    घरजग्गा कारोबारमा आएको यो उछालले सरकारी राजस्वमा पनि प्रत्यक्ष सकारात्मक योगदान पुर्‍याएको छ। चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको कुल राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने यस क्षेत्रबाट प्राप्त हुने पुँजीगत लाभकर ६३.२२ प्रतिशतको उच्च दरमा बढेको छ। अन्तमा, घरजग्गा क्षेत्रमा वित्तीय पहुँच र बैंकहरूको लगानीसमेत बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ