२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

खोज, उद्धार र राहत तीव्र; प्रधानमन्त्रीद्वारा जलवायु जोखिमबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षणको घोषणा

images

  • २०८३ भदौ १५, सोमबार
  • 261
    SHARES
  • खोज, उद्धार र राहत तीव्र; प्रधानमन्त्रीद्वारा जलवायु जोखिमबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षणको घोषणा

    काठमाडौँ : रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म पनि सरकारले खोज, उद्धार, उपचार, राहत वितरण र पुनः स्थापनाको कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत विस्तृत विवरण सार्वजनिक गर्दै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा राहत र पूर्वाधार पुनः स्थापनालाई सरकारले मुख्य प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ।

    विपद् व्यवस्थापनका मुख्य अद्यावधिक विवरणहरू :

    उद्धार र स्वास्थ्य स्थिति:  हालसम्म ११ हजार ३ सय ७९ जनाको सुरक्षित उद्धार गरिएको छ भने ३ हजार ९ सय २५ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरी अस्पताल भर्ना गरिएका २ सय ७९ घाइतेमध्ये १ सय ६८ जना उपचारपछि घर फर्किसकेका छन्। बाढीका कारण हालसम्म ९ सय ३९ जनाको शव फेला परेको र 'पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३' अनुसार वैज्ञानिक प्रक्रिया (डिएनए परीक्षणसहित) अपनाई शव व्यवस्थापन भइरहेको छ।

    आर्थिक सहयोग र पारदर्शिता: उद्धार र राहत कोषमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ। प्रधानमन्त्री राहत कोषमा मध्यान्हसम्म ५ अर्ब ८७ करोड ९२ लाख रुपैयाँभन्दा बढी र ३१ लाख ९३ हजार अमेरिकी डलर जम्मा भएको छ। सरकारले ‘उद्धार अनुरोध पोर्टल’मार्फत प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।

    सडक सञ्जाल पुनःजोडिनु: गल्छी–त्रिशूली राजमार्गअन्तर्गत कल्लेरीटार, पिपल टार हुँदै त्रिशूली बजार जोड्ने सडक सञ्चालनमा आएपछि नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनः सीधा सडक सञ्जालमा जोडिएको छ। भत्किएका पुलहरूको ठाउँमा अस्थायी बेल ब्रिज निर्माणका लागि देवघाट, त्रिशूली र बेत्रावतीमा अध्ययन पूरा भइसकेको छ। यसका लागि भारत सरकारबाट १ थान modular steel bridge प्राप्त भइसकेको छ भने भारतबाट थप ७ र चीनबाट ३० वटा बेल ब्रिज प्राप्त हुने क्रममा छन्।

    विद्युत् तथा सञ्चार पुनः स्थापना : नुवाकोटमा ८५ प्रतिशत र धादिङका राजमार्ग आसपासका क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा बहाल भइसकेको छ। रसुवाको सदरमुकाम धुन्चेसहित ३० प्रतिशत क्षेत्रमा विद्युत् पुगेको छ भने ५ सय थान पोर्टे बल सोलार पठाइएको छ। यस्तै,  नेपाल टेलिकमका १ सय २० मध्ये १ य १० र एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेका छन्।

    जलविद्युत् आयोजनामा उद्धार: प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा क्षेत्रहरूबाट हालसम्म २७९ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली-१ बाट २ सय ५४ जना, मैलुङ खोलाबाट ९ जना, त्रिशूली, देवघाट र सौर्य आयोजनाहरूबाट थप जनशक्ति उद्धार गरिएको छ। रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली-३ ए र ३ बी लगायतका आयोजनाका सुरुङहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भारत, चीन र कोरियाका विशेषज्ञ टोलीहरूले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

    प्रधानमन्त्री शाहले यस घटनालाई सामान्य बाढी मात्र नभई हिमालय क्षेत्रमा हिम पहिरोका कारण सिर्जित ठुलो विपत्ति भएको उल्लेख गर्नुभएको छ। जलवायु परिवर्तनका कारण बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यान आकर्षित गराउन नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषयलाई सशक्त रूपमा उठाउने उहाँले बताउनुभएको छ।

    प्रभावित नागरिकहरूको भौतिक क्षति सङ्कलन गरी दीर्घकालीन पुनः स्थापना, मानसिक तथा शारीरिक स्वास्थ्य सहयोग र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने काम अघि बढाइएको सरकारले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ