काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको छ भने फेला परेका शवहरूको सनाखत गर्ने कार्य जारी रहेको छ।
प्रारम्भिक विवरण अनुसार बाढीका कारण ठूलो संख्यामा पर्यटक, सुरक्षाकर्मी तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू सम्पर्कविहीन बनेका छन्। बाढीको मुख्य असर र स्थिति यस प्रकार छ :
सम्पर्कविहीन सुरक्षाकर्मी : उद्धार र सुरक्षामा खटिएका नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
बेपत्ता पर्यटक : प्रभावित क्षेत्रमा ३ सय ९१ जना विदेशी र ९३ जना स्वदेशी गरी कुल ४ सय ८४ जना पर्यटक सम्पर्कविहीन रहेका छन्।
कर्मचारी तथा अन्य : विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारीका साथै रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारीहरूसँग पनि सम्पर्क हुन सकेको छैन।
भौतिक पूर्वाधारमा क्षति: बाढीका कारण १९ वटा मोटरेबल पुल ध्वस्त भएका छन् भने ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको छ भने मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने काम निरन्तर जारी छ।