काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आठ होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको पछिल्लो वित्तीय विवरणले पर्यटन उद्योगको असमान चित्र देखाएको छ। समीक्षा अवधिमा २ कम्पनीले नाफा बढाउन सफल भएका छन् भने बाँकी ६ वटा कम्पनीको वित्तीय अवस्था भने निराशाजनक देखिएको छ, जसमा ५ वटा कम्पनी प्रत्यक्ष घाटामा छन् र एउटाको नाफा उल्लेख्य घटेको छ।
कमाउने कम्पनीहरू : सोल्टी र कालिञ्चोकको उत्साहजनक प्रदर्शन
सोल्टी होटल : ७६ करोड ११ लाख रुपैयाँ नाफा कमाउँदै यस क्षेत्रकै सबैभन्दा बलियो कम्पनी बनेको छ। अघिल्लो वर्षको तुलनामा सोल्टीको नाफा १६.५१ प्रतिशतले बढेको हो।
कालिञ्चोक दर्शन : नाफाको प्रतिशतका आधारमा कालिञ्चोक दर्शनले फड्को मारेको छ। कम्पनीले १०५.१४ प्रतिशतको तीव्र वृद्धिदरका साथ ५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ।
चन्द्रागिरी हिल्स: कम्पनीले नाफा त कमाएको छ, तर गत वर्षको तुलनामा ५६.०१ प्रतिशतको ठूलो गिरावट आएको छ। समीक्षा अवधिमा चन्द्रागिरीको नाफा ८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।
सूचीकृत ८ मध्ये ५ वटा कम्पनी भने ठूलो वित्तीय घाटा व्यहोर्न बाध्य भएका छन्। नोक्सानीमा रहेका कम्पनीहरूमध्ये तारागाउँ रिजेन्सी होटलको अवस्था सबैभन्दा कमजोर देखिएको छ, जसले ७० करोड ५७ लाख रुपैयाँको ठूलो घाटा व्यहोरेको छ।
त्यस्तै, ओरियन्टल होटल ४७ करोड ४४ लाख रुपैयाँ र होटल फरेस्ट इन २४ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा रहेका छन्। यसैगरी, सिटी होटल र बन्दीपुर केबलकारले पनि क्रमश: १७ करोड ३० लाख रुपैयाँ र १३ करोड ६५ लाख रुपैयाँको वित्तीय घाटा बेहोर्नुपरेको छ।