काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक सूचकहरू जस्तै जीवन बीमा कोष र कुल बीमाशुल्क आर्जनमा उत्साहजनक वृद्धि देखिए पनि खुद नाफामा भने केही गिरावट आएको छ।
वित्तीय विवरणहरू :
खुद नाफा : समीक्षा वर्षमा कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा यस वर्ष १५.०२ प्रतिशतले घटेको छ।
जीवन बीमा कोष : कम्पनीको व्यवसायको मुख्य आधार मानिने जीवन बीमा कोषको आकार १७.०४ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस कोषमा २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ सञ्चित थियो।
बीमाशुल्क आर्जन : समीक्षा वर्षमा कुल बीमाशुल्क आर्जन १२.१० प्रतिशतले बढेर ५४ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कुल बीमाशुल्क आर्जन ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ थियो।
खुद बीमाशुल्क आर्जन पनि १२.१४ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कायम भएको छ।
जगेडा तथा कोषहरू: कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) र अन्य सूचक : ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल लाइफको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ४.९१ रुपैयाँमा झरेको छ।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.०७ रुपैयाँ र पीई रेसियो १५२.०७ गुणा कायम भएको छ।



