काठमाडौँ :आयाम इन्टरकन्टिनेन्टलले हिमालयन अर्गनाइजेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा चीनको डोङफेङ कम्पनीका दुईवटा नयाँ विद्युतीय बस मोडलहरू सार्वजनिक गरेको छ। कम्पनीले सिटी इभी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ र लङ रेन्ज इभी बसको मूल्य १ करोड २४ लाख ५० हजार रुपैयाँ कायम गरेको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि यी मूल्यहरूमा ५ लाख रुपैयाँ छुट दिइने घोषणा गरिएको छ।
सार्वजनिक गरिएका यी विद्युतीय बसहरूले एकपटक पूरा चार्ज गर्दा सिटी मोडलले २५० किलोमिटर र लङ रेन्ज मोडलले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछन्। यी सवारीसाधनहरू डीसी फास्ट चार्जरको सहायताले करिब ४५ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्नेछन्। हाल यी बसहरू २८ र ३० सिट क्षमतामा उपलब्ध गराइएका छन् भने आगामी दिनमा ४० र ५२ सिट क्षमताका बसहरू पनि नेपाल भित्रिने तयारी रहेको छ।
सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ त्यहाँको ठूलो र प्रतिष्ठित अटोमोबाइल उत्पादक मध्ये एक हो। पाँच दशकभन्दा बढीको अनुभवसहित यस कम्पनीले विश्वस्तरीय प्रविधिको प्रयोग गर्दै विभिन्न प्रकारका सवारीसाधनहरू उत्पादन गर्दै आएको छ। डोङफेङका उत्पादनहरू हाल विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन् र नेपालमा पनि यसका विभिन्न सवारीसाधनहरू पहिलेदेखि नै लोकप्रिय रहेका छन्।
हिमालयन अर्गनाइजेशनले यसअघि भारतको फोर्स मोटर्स र चीनको म्याक्सस ब्रान्डका सवारीसाधनहरूको आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको छ। हाल नेपाल सरकारले ठूला विद्युतीय बसहरूलाई प्राथमिकता दिने नीति लिएको र उपभोक्ताहरूको समेत माग बढेको हुनाले यो नयाँ ब्रान्ड भित्र्याइएको कम्पनीले जनाएको छ। साथै, निकट भविष्यमै ठूला विद्युतीय स्कुल बसहरू पनि नेपाल ल्याउने योजना रहेको छ।
कम्पनीले आफ्नो विद्युतीय बसहरूको सेवा तथा सञ्जाल विस्तार गर्ने उद्देश्यले नेपालभरका प्रमुख सहरहरूमा डिलरशिपका लागि आह्वान समेत गरिसकेको छ। यसअन्तर्गत इच्छुक कम्पनीहरूले आधिकारिक रूपमा आवेदन दिन सक्ने जानकारी गराइएको छ।



