काठमाडौँ : चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्त) सम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरुको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुको समग्र नाफा गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले वृद्धि भएको छ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ मात्रै नाफा कमाउन सकेका थिए।
नबिल बैंकको सर्वाधिक नाफा, ग्लोबल आइएमई दोस्रोमा
यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिल बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी, सर्वाधिक नाफा कमाउने बैंकहरुको दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले जेठ मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।



