काठमाडौँ : बरुण हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार ४.७५ प्रतिशतले हुन आउने ५ करोड ९ लाख २ हजार ४२५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने २६ लाख ७९ हजार ७५ रुपैयाँबराबरको नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ।
सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन्। बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। साथै, नियमनकारी निकायबाट सुझाव प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन हुनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनी मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले लाभांश पारित गर्न मंसिर २६ गते २२ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ।



