काठमाडौँ : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेपछि बजारमा नकारात्मक प्रभाव देखिएको छ।
अधिकांश कम्पनीहरूको नाफा घटेको विवरणले लगानीकर्तामा निराशा ल्याएको छ, जसको असर आइतबारको सेयर कारोबारमा स्पष्ट देखियो। वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा घट्नु, जेनजी आन्दोलन र सुस्त अर्थतन्त्रले बजारमा दबाब सिर्जना गरेको छ।
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा झरेको छ, जुन १.१५ प्रतिशतको गिरावट हो। कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो बिहीबारको तुलनामा कम हो। कारोबार भएका ३२३ कम्पनीमध्ये २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको मात्र मूल्य बढेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत परिसूचक हेर्दा सबै समूहमा गिरावट देखिएको छ। बैंकिङ समूह १७.७२ अंकले, विकास बैंक ९८.६१ अंकले, जीवन बीमा १७४.९५ अंकले र निर्जीवन बीमा १४४.६८ अंकले घटेका छन्। यस्तै जलविद्युत्, लघुवित्त, उत्पादनमूलक, होटल, वित्त, लगानी, व्यापार र अन्य समूहहरूमा पनि उल्लेख्य गिरावट आएको छ।
यद्यपि केही कम्पनीहरूले सकारात्मक प्रदर्शन गरेका छन्। दरमखोला हाइड्रो, मैलुङ इनर्जी, सागर डिस्टिलरी र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।



