काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले आज कात्तिक १२ गते, बुधबार, आफ्नो ३१ औँ वार्षिक साधारण सभा काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा सम्पन्न गरेको छ। बिहान ११ बजे सुरु भएको सभामा बैंकका शेयरधनीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गरिएका छन्।
बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि असोज २४ गते बुक क्लोज गरेको थियो। यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।



