२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्र बैंकको ढुकुटीमा फेरि थुप्रियो विदेशी मुद्रा

images

  • २०८२ भदौ ३१, मंगलबार
  • 891
    SHARES
  • राष्ट्र बैंकको ढुकुटीमा फेरि थुप्रियो विदेशी मुद्रा

    काठमाडौँ : नेपालको विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशको कुल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

    गत असार मसान्तको तुलनामा साउन मसान्तसम्ममा यो सञ्चिति ४.८ प्रतिशतले बढेको हो। असार मसान्तमा कुल सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा हेर्दा पनि सञ्चितिमा वृद्धि भएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा साउन मसान्तसम्ममा २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड डलर पुगेको छ।

    राष्ट्र बैंकसँगको विदेशी विनिमय सञ्चिति ४ प्रतिशतले बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँगको सञ्चिति १२ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत साउन मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चितिमध्ये भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ।

    यो सञ्चिति आगामी २०.४ महिनाको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
    समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ३३ अर्ब ८ करोड रुपैयाँ मात्र बचतमा थियो।

    यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६९ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८० करोड रुपैयाँको तुलनामा भने केही कम हो। देशको शोधनान्तर स्थिति पनि ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४० अर्ब ९० करोड रुपैयाँ मात्र बचतमा थियो। समग्रमा, नेपालको बाह्य क्षेत्रमा सकारात्मक सुधार देखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ