काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजीमा आधारित रही ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन्।
हिमालयन रिइन्स्योरेन्स कम्पनी बीमा पुनर्बीमा सेवा प्रदान गर्ने नेपालको अग्रणी संस्थामध्ये एक हो। कम्पनीले स्थायीत्व र दीर्घकालीन प्रतिफलमा केन्द्रित रही सेयरधनीको हित सुनिश्चित गर्ने नीति अनुरूप लाभांश वितरण गर्दै आएको छ।



