कात्तिक २०, काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गर्नुभएको छ।
नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित हुनुभई प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारी पत्र सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो।
कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गर्नुभएको थियो।
सचेतक काफ्लेले केही हप्ताअघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउनु भएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो। नवनियुक्त प्रमुख सचेतक लम्साललाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको उक्त दलका नेता लामाले जानकारी दिनुभयो।



