काठमाडौँ : एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्षको ३.९ प्रतिशतको तुलनामा सुधार हो। आगामी वर्षको लागि भने एडीबीले ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरेको छ।
एडीबीका नेपाल आवासीय मिसन प्रमुख अर्थशास्त्री इआन हान्सनका अनुसार, अमेरिकाको टमपको ट्यारिफ घोषणाले एसिया-प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा नकरात्मक प्रभाव परेको छ, जसका कारण वृद्धि दर ४.९ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। उनले भने, "अमेरिकी नीतिगत परिवर्तनले प्रक्षेपणलाई कमजोर बनाएको छ र अनिश्चितता बढाएको छ।"
अमेरिकी आर्थिक वृद्धि २.८ प्रतिशतबाट घटेर २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा पुग्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ। साथै, अमेरिकासँगको व्यापार युद्धको कारण चीनको आर्थिक वृद्धिमा पनि प्रमुख प्रभाव पर्नेछ।
यसैबीच, दक्षिण एसियाको आर्थिक वृद्धि ५.८ प्रतिशतबाट ६ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ। नेपालमा चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि पनि सकारात्मक रहने अपेक्षा गरिएको छ। निर्माण क्षेत्रमा कर्जा विस्तार ७.७ प्रतिशत रहेको छ र उत्पादनमूलक उद्योगमा कर्जा लगानीको संभावना उच्च रहेको एडीबीका अर्थशास्त्री मानवरसिंह खड्काले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार, चालु वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ, जसले ऊर्जा क्षेत्रमा ठूलो योगदान गर्नेछ। साथै, पर्यटनको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धिमा पनि सकारात्मक प्रभाव पर्नेछ।
एडीबीको प्रक्षेपण अनुसार, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने र आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित रहने अपेक्षा गरिएको छ।



