काठमाडौँ : चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष ह्नुच्छेबहादुर महर्जनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा महर्जनमाथि बचतकर्ता तथा शेयरधनीहरूको रकम हिनामिना गरेको आरोप लागेको छ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले प्रारम्भिक अनुसन्धानका आधारमा महर्जनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सहकारीका सदस्यहरूले आफ्नो जम्मा गरिएको रकम फिर्ता नपाएको गुनासो गरेपछि यस विषयमा उजुरी परेको थियो।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले महर्जनलाई पक्राउ गरी घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। यस प्रकरणमा सहकारीका अन्य सदस्य तथा कर्मचारीहरूको संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ।



