काठमाडौं : गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सोमबार बिहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले आत्महत्याका घटनाहरू रोकथाम गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि भएको तथ्यप्रति चिन्ता व्यक्त गर्दै मनोपरामर्श, अनुसन्धान र सचेतना कार्यक्रममार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
गृहमन्त्री लेखकका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाले आत्महत्या प्रयास गरेका थिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ। बाँचेका २६ जनाले पनि पुनः आत्महत्या गर्ने सम्भावना रहेकाले उनीहरूलाई समयमै परामर्श दिनु महत्त्वपूर्ण रहेको उनले बताए।
सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले आत्महत्याका कारण, कारक र समाधानबारे अनुसन्धान गर्नेछ। त्यस्तै, नेपाल प्रहरीलाई आत्महत्या न्यूनीकरणसम्बन्धी आधारभूत तालिम प्रदान गरिनेछ।
प्रहरी र मानसिक स्वास्थ्य विभागको सहकार्यमा आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूलाई पहिचान गरी मनोपरामर्श सेवा उपलब्ध गराइनेछ।
प्रहरीले आत्महत्याको प्रयास गरेका व्यक्तिहरूको विवरण मानसिक स्वास्थ्य विभागलाई उपलब्ध गराउनेछ भने विभागले टेलिमेडिसिन सेवामार्फत मनोपरामर्श उपलब्ध गराउनेछ।
मानसिक स्वास्थ्य विभागका प्रमुख डा. दिपक कुँवरले यो सहकार्यले काठमाडौं बाहिरका क्षेत्रमा पनि आत्महत्या न्यूनीकरणका गतिविधिहरू सञ्चालन गर्न मार्गप्रशस्त गर्ने बताए।
यस कार्यक्रमअन्तर्गत तीन महिनाको अन्तरालमा सहकार्यको प्रभावकारिता मूल्यांकन गर्दै सुधारका उपायहरू तय गरिने छ। आत्महत्या न्यूनीकरणका लागि दीर्घकालीन तथा व्यवस्थित रणनीति बनाउनेतर्फ गम्भीर ध्यान दिनुपर्नेमा दुबै पक्ष सहमत भएका छन्।



