नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् ।
फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन देखी टोपबहादुर रायमाझी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने वैशाख २० मा नै पक्राउ गरेको थियो ।
सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।



