काठमाडौँ : वीरगञ्जका दुवै भन्सार कार्यालयले आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सार सेवामा विस्तार गर्ने भएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले भन्सार प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म सेवा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि बिहान ६ बजेदेखि बेलुका १० बजेसम्ममात्रै सेवा सञ्चालन हुँदै आएको थियो, जसले गर्दा व्यवसायी र यात्रुले असुविधा भोग्नु परेको गुनासो आएको थियो।
पर्साका प्रजिअ अर्यालले सेवा विस्तारले भन्सार जाँचपास प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने "भन्सार जाँचपासको समय थपिएपछि व्यवसायी र यात्रुलाई सहज हुने अपेक्षा छ।"
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा उपलब्ध हुनेछ। "यो निर्णयले व्यापारी र यात्रु दुवैलाई थप सहजता र राहत दिनेछ।" उनले भने।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले पनि सेवा विस्तारलाई सकारात्मक कदमका रूपमा लिँदै व्यापारी तथा व्यवसायीहरूलाई झन् सहजता हुने बताए। वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत एकीकृत जाँचचौकी र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले समेत यो सुविधा लागू गर्नेछन्।



