काठमाडौं : युएसएडसँगको सहकार्यमा “देशैभरि वर्षभरि” उद्यमशीलता विकास र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कुमारी बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि र व्यवहारिक क्षमताको विकासमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने विश्वास राख्दै, यस अभियानलाई स्थानीय उद्यमीहरूसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको हो।
प्रशिक्षणमा वित्तीय उद्यमशीलता, वित्तीय साक्षरता, कुमारीजी एपको प्रयोग र सन्देशमूलक भिडियोहरूसँगै वित्तीय योजना निर्माणका व्यवहारिक उपायहरू समावेश गरिएका थिए।
बैंकले यो अभियानले स्थानिय निकायहरूमा उद्यमशीलता सोचलाई बलियो बनाउने, आर्थिकरूपमा समृद्ध परिवार, समाज र राष्ट्र निर्माणमा सहयोग पुर्याउने विश्वास लिएको छ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३ सय २ शाखा, ३ सय १५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सरल र प्रभावकारी सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न नवीन सहकार्यहरू र वित्तीय साक्षरताका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।



