काठमाडौँ : बजारमा अण्डाको मूल्य बढेको छ। माग बढ्दै गएपछि अण्डाको मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
संघका अध्यक्ष विनोख पोखरेलका अनुसार शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँसम्म वृद्धि गरिएको हो।
हाल बजारमा तीन प्रकारका अण्डा उपलब्ध छन्: मध्यम, ठूलो र एक्सल, नयाँ मूल्य सूचीअनुसार,
- मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४० रूपैयाँ,
- ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ५५ रूपैयाँ,
- एक्सल अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रूपैयाँ पुगेको छ।
यसअघि मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय रूपैयाँ, ठूलो चार सय २५ रूपैयाँ र एक्सल चार सय ४० रूपैयाँ रहेको थियो।
माग र उत्पादनको सन्तुलनलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको संघले जनाएको छ।



