काठमाडौं : स्टोरेजका लागि हाल दुई मुख्य विकल्पहरू उपलब्ध छन्। हार्ड डिस्क ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसएसडी)। दुवैले समान उद्देश्य पुरा गर्छन्। फाइल, एप्लिकेसन र अपरेटिङ सिस्टमलाई सुरक्षित रूपमा स्टोर गर्छन्। तर यी दुईको काम गर्ने प्रविधि र प्रक्रिया फरक छ, जसले गर्दा कम्प्युटरको समग्र प्रदर्शनमा महत्वपूर्ण असर पर्न सक्छ। यसले गर्दा, उपभोक्ताहरूलाई आफ्नो आवश्यकताअनुसार कुन ड्राइभ छनोट गर्ने भन्ने निर्णयमा अन्यौल हुने गरेको छ।
एचडीडी HDD (हार्ड डिस्क ड्राइभ)
एचडीडी पुरानो प्रविधि हो, जसको सुरुवात सन् १९५० को दशकमा भएको थियो। यसमा डेटा स्टोर गर्न म्याग्नेटिक प्लेटहरू हुन्छन्, जुन एक धातु केसमा सुरक्षित हुन्छन्। यी प्लेटहरू एकदम तीव्र गतिमा घुम्छन्। जसलाई सानो डण्डीले छुने र पढ्ने काम गर्छ। एचडीडीको डेटा ट्रान्सफर रेट सामान्यतया ३० देखि १५० एमबीपीएसको बीचमा हुन्छ।
एसएसडी SSD (सोलिड स्टेट ड्राइभ)
एसएसडी एक आधुनिक स्टोरेज प्रविधि हो, जसमा फ्ल्याश मेमोरी चिप प्रयोग गरिन्छ। यसमा चल्ने मेकानिकल भाग नहुने भएकाले डेटा पढ्ने र लेख्ने प्रक्रिया एकदम छिटो हुन्छ। सामान्यतया एसएसडीको डेटा ट्रान्सफर गति ५०० एमबीपीएसदेखि साढे तीन हजार एमबीपीएससम्म हुन सक्छ।
एचडीडी र एसएसडी बीचको मुख्य भिन्नताहरू:
विशेषता | एचडीडी (HDD) | एसएसडी (SSD) |
प्रविधि | म्याग्नेटिक डिस्क | फ्ल्याश मेमोरी चिप |
स्पीड | ३०-१५० एमबीपीएस | ५००-३५०० एमबीपीएस |
लागत | धेरै सस्तोमा | सस्तो भए पनि उच्च क्षमतामा महँगो |
विश्वसनीयता | पुरानो भए झनै बिग्रन सक्छ | हलचल हुने भाग नहुने, भरपर्दो |
तापक्रम र आवाज | धेरै ताप र आवाज उत्पन्न हुन्छ | आवाज शून्य, कम तापमान |
कुन उपयुक्त?
यो छनोट तपाईंको आवश्यकतामा भर पर्छ। यदि तपाईंलाई स्पीड र पर्फमेन्स चाहिन्छ भने, एसएसडी उपयुक्त हुनेछ। तर, स्टोरेज क्षमता बढी र बजेट सीमित भएमा एचडीडी राम्रो विकल्प हुन सक्छ।
समाधानको सन्दर्भमा: यदि तपाईंले दुवै स्टोरेज मिलाउन सक्नुहुन्छ भने, अपरेटिङ सिस्टमका लागि एसएसडी र ठूला फाइलहरूका लागि एचडीडी प्रयोग गर्दा उत्कृष्ट कार्यसम्पादन प्राप्त हुन्छ।



