काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीस्वरूप विराटनगर किंग्सले आफ्नो अन्तिम अभ्यास खेलमा पोखरा एभेन्जर्ससँग ३६ रनको पराजय बेहोरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि फिर्दोस अन्सारीले २१ रनमा अविजित इनिङ खेले भने दीपक बोहराले १९ रन र बसिर अहमदले १८ रन बनाए। पोखराका बलर सागर ढकाल र तीर्थराज दासले २–२ विकेट लिएर प्रभावशाली प्रदर्शन गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो। पोखराका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५५ रन बनाए। माइकल लिस्कले २१ रन र किरण ठगुन्नाले १० रनको योगदान गरे।
विराटनगरका बलर सन्दीप लामिछाने र सुवाष भण्डारीले २–२ विकेट लिए भने जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिए।
यसअघि बुधबारको अभ्यास खेलमा जनकपुरले लुम्बिनीलाई ९६ रनले पराजित गरेको थियो। शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।



