काठमाडौं : बिहानीपख बाक्लो हुस्सु र कुहिरोले दृश्यता कमजोर भएपछि मुलुकको हवाई उडान प्रभावित भएको छ। विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भएका छन्। पछिल्लो एक हप्तादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भइरहेको छ।
गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा ‘होल्ड’ भएको थियो। केही दिनदेखि गौतमबुद्ध विमानस्थलमा दृश्यता कमजोर हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। बिहानका लागि निर्धारित उडानहरू डिले हुने गरेका छन्।
गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले दृश्यता कमजोर गरिरहेका कारण उडान प्रभावित भइरहेको छ। केही दिनदेखि बिहान ११ र १२ बजेपछि मात्रै आकाश खुल्न थालेपछि उडान तथा अवतरण सम्भव भइरहेको छ।
काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनदेखि बिहान हुस्सु लाग्ने हुँदा उडान सामान्य रूपले प्रभावित भइरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार जाडो मौसमका कारण बिहान हुस्सु बढी लागिरहेको छ। केही दिनदेखि बिहान समस्या हुने गरेको भए पनि मध्यान्ह आकाश खुल्न थाल्छ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु र कतिपय स्थानमा कुहिरोले दृश्यता कमजोर बनाउँदा हवाई उडानमा समस्या भइरहेको छ। तुलनात्मक रूपमा पश्चिमी तराईका विमानस्थलमा यो समस्या कम छ, जहाँ बिहान चाँडै आकाश खुल्ने गर्छ।
मौसमविद् अधिकारीका अनुसार, १ किलोमिटरभन्दा कम दृश्यतालाई कुहिरो भनिन्छ, जबकि १ देखि ५ किलोमिटरका बीचको दृश्यतालाई हुस्सु भनिन्छ। अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या देखा परेको छ। पहाडी र हिमाली क्षेत्रका लागि दृश्यता राम्रो देखिएको छ, तर तराईमा हुस्सु र कुहिरोले समस्या उत्पन्न गरेको छ।
पछिल्लो समय आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूले उडान प्रभावित भएका यात्रुहरूलाई विभिन्न माध्यमबाट जानकारी दिइरहेका छन्। विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टार जस्ता विमानस्थलहरूमा निर्धारित समयमा उडान हुन सकिरहेका छैनन्।
काठमाडौँ बाहिरका विमानस्थलहरू ढिला खुल्दा काठमाडौँको उडान तालिका पनि प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले काठमाडौँको दृश्यता फ्लाइट रुल्स (भिएफआर) उडानमा समस्या नरहे तापनि अन्य विमानस्थलका उडान प्रभावित भइरहेको जानकारी दिएका छन्। भैरहवा र सिमरा विमानस्थलहरू भने अहिले खुलेका छन्।
आज बिहान झापाको चन्द्रगढी विमानस्थल बाहेक तराईका अधिकांश विमानस्थल बन्द थिए, तर अहिले दृश्यता सुधार भइसकेपछि क्रमशः विराटनगर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेका छन्।
प्रवक्ता शेर्पाका अनुसार सबैभन्दा ढिला भैरहवा र सिमरा विमानस्थल खुलेका छन् र गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२:५० मा खुलेको छ। काठमाडौँ बाहिरका गन्तव्यहरूमा उडान डिले भइरहेको छ।
देशभर पश्चिमी वायु र पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने संभावना छ।



