काठमाडौं : हिउँदयाम सुरु भएसँगै चिसो बढ्न थालेको छ, जसले गर्दा छालामा धेरै समस्या देखिन थाल्छ, जस्तै छाला सुख्खा हुनु, छाला र ओठ फुट्नु, छालामा दाग देखा पर्नु र कहिलेकाहीँ सुन्निनु। यस्तो अवस्थामा कसरी छालालाई स्वस्थ राख्न सकिन्छ भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ।
हाम्रो भान्सामै उपलब्ध केही प्राकृतिक तत्वहरूको प्रयोगले हामी चिसो मौसममा आफ्नो छालाको सुरक्षा र सौन्दर्य दुवै कायम राख्न सक्छौँ। यहाँ केही घरेलु सामग्रीको सुझाव दिइएको छ, जुन जाडोमा छालाको लागि वरदान साबित हुन सक्छ।
शुद्ध घ्यू
शुद्ध घ्यू केवल खानेकुराको स्वाद बढाउँछ, यो छालाको लागि पनि निकै लाभदायक हुन्छ। घ्यूमा रहेको स्वस्थ फ्याट र भिटामिनहरूले छालालाई पोषण दिनुका साथै यसले नरम र चमकिलो बनाउँछ। भान्सामा उपलब्ध देसी घिउले अनुहारमा मालिस गर्दा छालाको रक्तसञ्चार राम्रो हुन्छ, जसले छालालाई ताजगी दिन्छ।
काचो दूध
काचो दूध पनि जाडोयाममा सुख्खा छालाका लागि अति लाभकारी मानिन्छ। फ्याट र प्रोटिनले भरिपूर्ण काचो दूधले छालालाई पोषण दिन्छ र ल्याक्टिक एसिडले दाग कम गर्नमा मद्दत गर्छ। अनुहारमा काचो दूधले मसाज गर्दा छालामा नरमपन आउँछ र सुख्खापन हटाउन मद्दत गर्छ।
मह
महले छालालाई पोषण दिनुका साथै चमकिलो र नरम बनाउँछ। महले छालाको घाउ, दाग र पिम्पलहरूलाई कम गर्न मद्दत गर्छ। यो धेरै मात्रामा नलगाई, फेसप्याकको रूपमा प्रयोग गर्दा राम्रो हुन्छ। महलाई आधा घण्टासम्म अनुहारमा लगाएर त्यसपछि पानीले सफा गरी नरिवलको तेल लगाउनाले छाला चम्किलो बन्छ।
नरिवलको तेल
नरिवलको तेल प्राचीनकालदेखि नै छालालाई नरम र चमकिलो बनाउन प्रयोग हुँदै आएको छ। यसले छालालाई प्राकृतिक रूपमा मोइस्चराइजरको रूपमा काम गर्छ, जसले सुख्खापन हटाउँछ र कोलाजेन उत्पादनलाई प्रोत्साहित गर्छ।
नरिवलको तेललाई सीधै अनुहारमा लगाउन सकिन्छ वा त्यसमा गुलाबजल र एलोभेरा जेल मिसाएर प्रयोग गर्न सकिन्छ, जसले छालामा अतिरिक्त नमी दिन्छ र छालाको सौन्दर्य बढाउँछ।
यस्ता घरेलु उपायहरू अपनाएर चिसो मौसममा आफ्नो छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न सकिन्छ।



