काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले साहसिक पर्यटनमा प्रयोग गर्न मिल्ने ‘पारामोटर’ निर्माण गरी सफल परीक्षण सम्पन्न गरेको छ। केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस उडानको भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्।
पारामोटरको निर्माण आविष्कार केन्द्रमा कार्यरत राजु थापाले अनुसन्धानको क्रममा गरेका थिए। यसमा इटालीमा निर्मित इन्जिन प्रयोग गरिएको पुनले जनाए। केन्द्रले यसअघि पनि यस्तै यन्त्रहरू निर्माण गरेको भए तापनि हाल बनेको पारामोटरमा उच्च गुणस्तरको इन्जिन जडान गरिएको छ।
नेपालमा यसप्रकारका यन्त्र पहिले पनि बनेका थिए, तर व्यवसायीकरण हुन सकेको थिएन। पुनका अनुसार यो पारामोटर पोखरामा सञ्चालन भइरहेको अल्ट्रालाइटजस्तै भए पनि यसलाई वैधानिकता दिन आवश्यक रहेको छ।
"यसको व्यवसायीकरणका लागि सरकारी पहल आवश्यक छ। हामीले व्यवसायीकरणको कदम चाल्ने छैनौं, तर सरकारको ध्यान पुगेर यो प्रक्रिया अघि बढेमा मात्र सम्भव छ। यद्यपि, मलाई तत्कालै सरकारको ध्यान पुग्ने सम्भावना कम लाग्छ।" पुनले भने।




